२२ भाद्र २०८१, शनिबार

आयोगको निर्देशन – निर्वाचन प्रचार-प्रसारमा हेलिकोप्टरको प्रयोग नगर्नू


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका उपन्यायाधिवक्ता तथा सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएका हुन् ।

यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उम्मेदवार र दलका नेता कार्यकर्तालाई हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएका हुन् । आयोगले आगामी बैशाख १० गते बारा, चितवन र तनहु जिल्लामा हुन गईरहेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेकोले पालना गर्न आग्रह गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (छ) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको बताएको छ ।

यद्यपि उक्त व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाँउन भन्ने उद्देश्यले मात्र राखिएको पनि आयोगले स्पष्ट पारेको छ ।

निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरुमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचार-प्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरुमा यातायातको सहज पहुँच समेत रहेको पनि आयोगले बताएको छ ।

यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेतातथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नु हुन आयोगले सूचित गरेको छ ।

साथै, निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचार-प्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन यसै विज्ञप्तिमार्फत पनि जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !