१५ असार २०८१, शनिबार

काँग्रेसका एनपी साउद परराष्ट्रमन्त्री नियुक्त, आजै लिए सपथ


एनपी साउद

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदले सपथ समेत लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले हिजो बालुवाटार सिफारिस पत्र समेत पठाइसकेकोले प्रधानमन्त्री प्रचण्डले आज साउदलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी गर्नको लागि परराष्ट्रमन्त्रीको तत्काल आवश्यक परेकोले साउदलाई आजै मन्त्री नियुक्त गरेर हतार-हतार शपथग्रहण गराइएको हो । गठबन्धनमा मन्त्रालयको भागवण्डा हुँदा कांग्रेसले परराष्ट्र मन्त्रालय पाएको थियो ।

काँग्रेसमा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिने साउद कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी यसअघि सिँचाइमन्त्रीसमेत भइसकेका थिए ।

संस्थापन देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बनेका हुन् । यस्तै उक्त समूहबाट मोहनबहादुर बस्नेत र सुरेन्द्र आचार्यको पनि मन्त्री बन्ने चर्चा चलेको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । तर सो पार्टीको संस्थापन शेरबहादुर देउवा समूह र संस्थापनइतर डा. शेखर कोइराला समूहमा सहमति हुन नसकेकोले यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको थियो ।

कांग्रेसबाट यसअघि उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !