८ असार २०८१, शनिबार

मधेश जनविद्रोहको बाँकी अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी हो : उपेन्द्र यादव


उपेन्द्र यादव

बारा (करैयामाई) । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले सामाजिक एकता र सद्भाव भड्काउने तत्व सक्रिय भएर लागेकोले जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

बाराको करैयामा बिहिबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे ।

अध्यक्ष यादवले भने,– ‘जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्छ, यसले न त त्यस्ता व्यक्तिको हित गर्छ न त समाजलाई ।’

परिवर्तनकामी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए । संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्न तथा बाँकी अधिकारहरुको सुनिश्चितताका लागि संघर्ष गर्नु आवश्यक छ, त्यसैले झुठा भ्रम फैलाएर मिठा सपना बाँड्ने तत्वहरुको पहिचान गरौं ।’

आफ्नै देशमा अपमानित भएर बाँच्नु परेको अवस्थाबारे स्मरण गर्दै उनले मधेश विद्रोहकै प्रतिफलले गर्दा देशमा संघीयता आएको र विभिन्न नाममा मधेशी जनतासँग गरिने विभेदहरुको अन्त्य भएको चर्चा गरे । देशमै पहिचानको आधारमा आज मधेश प्रदेश नै बनेको र गर्वले मधेशी भन्न पाएको बताउँदै उनले लडाई लड्न अझैं बाँकी रहेकोले थप अधिकार प्राप्तिका लागि सडक र सदन दुबै आवश्यक रहेको दावी गरे ।

‘तत्कालिन सरकार र मधेशी जनअधिकार फोरम नेपालसँग भएको सम्झौताकै आधारमा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख सर्वसाधारण जनताले नागरिकता पाएको हो प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भने ‘मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यक लगायतका आरक्षणको सुनिश्चितता भएको हो, त्यही भएर आज विभेदमा पारिएका र पछाडि पारिएका समुदायले पनि सरकारी सेवा लगायत क्षेत्रमा प्रवेशको सुनिश्चितता पाएको हो ।’

देश र मधेशका लागि कसले के गरे ? कतिको संघर्ष गरे ? कसको कति योगदान छ ? कसको संघर्षले के परिवर्तन आएको हो ? यसको लेखाजोखा न्यायप्रेमी जनताले गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘हावादारी कुरा गरी भ्रम फैलाउनेहरुले जनताको मुक्तिकालागि के गरेका छन् ? जनताले के पाएको हो ? हाम्रा भावी सन्ततीलाई कहाँ लग्दैछ ?, एकतावद्ध समाजलाई विभाजन गरेर कहाँ लान खोज्दैछ ? देशमा आज मधेश विद्रोह नभएको भए हामी कहाँ हुन्थ्यौ ?, मधेश विद्रोहको नेतृत्व कसले गरेको थियो ? आज कसरी षडयन्त्र हुँदैछ ? यसको भावी परिणामबारे समेत आममतदाताले सोच्नु जरुरी छ ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, संविधानसभा सदस्यद्वय कलावती पासवान, जसपा नेता प्रमोद गुप्ता लगायतका नेताहरु समेत जनता दर्शन कार्यक्रममा सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !