७ पुस २०८१, आइतबार

जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरुद्धको चौतर्फी प्रहार हो : ढाकाकुमार श्रेष्ठ


ढाकाकुमार श्रेष्ठ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले जनवरीको अडियो अहिले आएर सार्वजनिक गर्नु पार्टीविरुद्धको चौतर्फी प्रहार भएको बताएका छन् ।

काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालय आज बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र भएका बताएका हुन् ।

उनले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले सार्वजनिक भएको उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरेका हुन् ।

श्रेष्ठले पार्टीलाई बदनाम गराउन खोजेको बताउँदै केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि चौतर्फी प्रहार भएको बताए । तीन निर्वाचन क्षेत्रमा पार्टीलाई पराजित गर्नका लागि अहिले अडियो सार्वजनिक गरिएको श्रेष्ठको दाबी थियो ।

श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको पनि स्पष्ट पारे । उनले न्यायालयबाट क्लीनचिट ल्याएर आउने दाबी गर्दै आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै क्षमा पनि मागेका छन् ।

उनले तीनै निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई पार्टीका उम्मेदवारहरुलाई भोट दिएर अत्यधिक बहुमतले जिताइदिन समेत अनुरोध गर्दै आफू न्यायलयबाट क्लिनचिट पाएपछि फेरि भेट्ने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !