काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ ।
रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे काठमाडौँको वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
यसअघि जुम मिटिंगबाट बैठक गर्ने भनिएपनि बैठकमा भाग लिन चितवनमा रहेका रास्वपा सभापति रवि लामिछाने र केन्द्रीय सदस्यहरूलाई काठमाडौँ आउने भएका हुन् ।
रास्वपा केन्द्रीय समितिको बैठकलगत्तै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने तयारी पनि गरिएको छ । रास्वपाले कठोर निर्णय गरेका उनी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन तथा संसदबाट समेत हटाउन संसद् सचिवालयमा पत्र पठाउन सक्ने छ ।
श्रेष्ठ र प्रसाईंबीचको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापति लामिछाने निकै आक्रोशित भएका छन् । यता श्रेष्ठले पार्टीले कारबाही गरे ‘कोर टिम’ सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।
उनले आफूलाई अप्ठेरो परेका बेला पार्टीले सहयोग गर्नुपर्ने बताउँदै पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका हुन् । अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले हिजो यस्तो चेतावनी दिएका थिए ।
उनले आफूलाई फसाउन खोजिएर अप्ठ्यारो परेका बेला आफूलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका थिए । पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।