७ माघ २०८१, सोमबार

सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता हुँदै


सरकारी वार्ता टोली र मिटरब्याज पीडित

काठमाडौँ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहबीच आज पनि वार्ता हुँदै छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहबीच हिजो पनि वार्ता भएर सकारात्मक रुपमा टुङ्गिएको बताइएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको हिजो जानकारी दिएका थिए । आइतबार शान्तिवाटिकामा भएको वार्ता आज भने गृह मन्त्रालयमा भएको थियो ।

वार्तामा पीडितहरुले तीन किसिमका माग राखेको कोइरालाले जानकारी दिए । उनका अनुसार एउटा प्रशासनिक, दोस्रो नीतिगत र तेस्रो कानुनी प्रश्नसहितको माग राखेका छन् । त्यसमध्ये पीडकले धम्क्याउने, तर्साउनेजस्ता विषयमा प्रशासनिक रुपमा हल गर्न सकिने र त्यस्ता सूचना प्राप्त हुने बित्तिकै गृहमन्त्रालयले कारबाही अघि बढाउने भनेर छलफल भएको छ ।

त्यसका अलावा लिखत खारेज गर्नेजस्ता विषयहरु मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्नेजस्ता खालका छन् भने फैसला भएका मुद्दा पुनरावलोकनजस्ता मागहरु कानुनी प्रश्न भएकाले कानुनअनुसार नै सम्बोधन गर्नुपर्ने खालका रहेको पनि कोइरालाले बताए । यसअघि शान्तिवाटिकास्थित मिटरब्याजी पीडितहरु रहेको स्थानमा पुगेर आइतबार पहिलो चरणको वार्ता गरिएको थियो ।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँचबुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका छन् ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषण गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाहरुको रिहाइ, बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीहरुको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !