काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भोलिसम्म सरकारले पूर्णता पाउने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भोलिसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।
आजको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र भागबण्डाको विषयमा संस्थापन समूह र संस्थापनइतर समूहबीच विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले सबै विषय मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् ।
नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला र गगन थापा समूहले यसअघि ३ वटा मन्त्रालय नपाएमा सरकारमा नजाने अडान राखेको थियो । काँग्रेसमा उक्त समूहले मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम पठाएको थिएन ।