७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रोपटक पाए विश्वासको मत


प्रधानमन्त्री प्रचण्ड संसद विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका हुन् ।

प्रतिनिधिसभाको २७५ सदस्यमध्ये आजको बैठकमा कूल २६२ सांसद उपस्थित थिए । विश्वासको मत प्रस्तावको पक्षमा १७२ मत परेको छ भने विपक्षका ८९ जना सांसदको मत परेको छ । आज १ जना सांसद विश्वासको मत दिन्न भन्ने पक्षमा वा तटस्थ रहे ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । सभामुख घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १७२ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।

यद्यपि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो ।

नेपालको संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने बाध्यता भएकोले आज विश्वासको मत लिएका हुन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका २७० सांसदमध्ये २६८ सांसदले विश्वासको मत दिएका थिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १२ गते अपराह्न १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !