काठमाडौँ । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का सांसद विष्णु पौडेलले सहयात्री एमालेलाई घोक्र्याएर निकालेर राष्ट्रिय सहमतिको रटान लगाउने विषय मेल नखाने बताएका छन् ।
आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले एमालेलाई छोडेर के कारणले कांग्रेसतिर फर्किनुभयो ? भनेर प्रश्न गरेका हुन् ।
पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका हुन् । पौडेलले राष्ट्रिय सहमति भन्ने विषय नभएर गर्ने कुरा भएको टिप्पणी गरेका छन् । उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनैपर्ने बताए ।
पौडेलले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।