१४ असार २०८१, शुक्रबार

कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएका छन् ।

नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताए ।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उनले भने, “आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ । तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ ।”

उनका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ”, उनले भने ।

विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानून कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिए ।

अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिए । कानून निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले कानूनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !