७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले बोलायो संसदीय दलको बैठक


कमलबहादुर शाह

धनगढी । सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन तयारीमा रहेका मुख्यमन्त्री शाहले सोही विषयमा छलफल गर्न बिहान १० बजे संसदीय दलको कार्यालय धनगढीमा बैठक बोलाएका हुन् ।

विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएतापनि विश्वासको मत पाउने सम्भावना कम हुँदै गएको देखिएको छ ।

यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् । कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । यद्यपि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेकोले आजै सर्वदलीय बैठकसमेत बोलाउन सक्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !