१२ असार २०८१, बुधबार

भारतको इसारामा प्रचण्डले मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनविरुद्धको गद्दारी हो : ओली


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिणको छिमेकी देश भारतको इसारामा मुस्ताङमा विश्वविद्यालय खोल्न खोज्नु उत्तरको छिमेकी देश चीनविरुद्धको गद्दारी गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रिय कार्यालयमा स्थानीय तह कर्मचारी संघ, नेपालले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका हुन् ।

ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे । उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो । २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको हो। आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’

ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने नाममा मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको बताएका हुन् । ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताए ।

उनले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताए । उनले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय खोल्न खोजेर खास उद्धेश्यका मान्छे मात्र त्यहाँ बसोवास गर्न खोजेको उनको भनाइ छ । ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको आरोप लगाए ।

उनले भने, ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! त्यहाँ खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् ।’

ओलीले भारतलाई खुसी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाए । उनले मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको भन्दै प्रधानमन्त्रीकै आदेशमा विषादी परीक्षण नगर्न भनिएको आरोप समेत लगाए ।

उनले भने, ‘भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको छ । अहिले सरकारमा बस्नेहरुमा लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने र नेपालीलाई खुवाउन दिने, मालिक खुसी हुन्छ कि हुँदैन ! विषादी खुवाएर नेपाली जनतालाई मार्ने काम सरकारले गर्न खोजिरहेको छ ।’

उनले थप्दै भने, ‘नेपालीको भान्सामा विषादी आएर के भयो ? प्रधानमन्त्रीजीको आदेशमा तरकारी आदि विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । सबै ठाउँमा संयन्त्र नहुनु बेग्लै कुरा हो । भएकोमा जाँच्नु पर्‍यो नि ! बाह्य शक्तिलाई खुसी पार्ने, आफ्नो जनतालाई विषाक्त चीजहरु खुवाएर मार्ने ? त्यस खालको विरोध गर्नुपर्छ ।’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए । ओलीले एकजना हिरोइनको उपस्थितिमा आठ दलको बैठक बसेको भन्दै मुलुकमा अब यस्तै तमासाहरु देखिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !