२१ बैशाख २०८१, शुक्रबार

रास्वपाको केन्द्रीय कमिटी बैठक भोलि बस्ने


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो ।

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्न सोमबार बैठक बस्ने बैठकमा छलफल हुने भएको हो ।

भोलि बस्ने बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे पनि छलफल हुने छ । गत पुस १० गते बनेको ७ दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको वर्तमान सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । सरकारबाट बाहिरिएपनि सरकारलाई गरेको समर्थन फिर्ता भने लिएको छैन ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । दुवै राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख हुन् ।

आठ दलीय गठबन्धनको समर्थनमा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेलले शनिबार उम्मेदवार दर्ता गर्नुअघि नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । लामिछानेले पार्टीमा छलफल गरेर यसबारे निर्णय गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !