१५ असार २०८१, शनिबार

नेपाल राष्ट्रिय अभियानको पदचापमा सेनाको भूमिका महत्वपूर्ण रहनेछ : रक्षामन्त्री उप्रेती


हरिप्रसाद उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन् ।

रक्षामन्त्री उप्रेतीले सन्देशमा भनेका छन्, “सेनाको गौरवशाली सङ्गठनको साङ्गठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलगायतका क्षेत्रमा समयानुकूल आधुनिकीकरण र क्षमता विकास गर्न अत्यावश्यक छ । सुखी नेपाली र समृद्ध नेपाल राष्ट्रिय अभियानको पदचापमा सेनाको भूमिका महत्वपूर्ण रहनेछ ।”

उनले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती र सेनाको भूमिकाबारे आफू जानकार रहेको उल्लेख गरेका छन् ।

यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु¥याउने सबैमा शुभकामना व्यक्त गरेको छ ।

नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !