काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजाने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीका अनुसार ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा लैजाने तयारी भएको हो । आज दिउँसो २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने तयारी भएको मन्त्री गिरीको सचिवालयले जनाएको छ ।
स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो। उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।
अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।