७ बैशाख २०८१, शुक्रबार

गोँगबु घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उनीहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए ।

सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको वयवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गरे । सांसद बनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रम वृद्धि हुँदै गएको र मानसिक समस्या र झन्झटिलो प्रशासनिक सेवालाई नियन्त्रण गर्नुपर्ने माग गरे ।

सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्क पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गरे । सांसद शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सरस्वती सुुब्बाले काठमाडौँ सुकुम्वासीलाई हटाउनुअघि उनीहरुको आवासको हकको सुनिश्चित गर्न माग गरे । सांसद सरिता प्रर्साईले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सरिता भुसालले नवलपरासीका उखु किसानले लामो समयदेखि रकम भुक्तानी नभएको जानकारी गराउँदै उक्त किसानको भुक्तानी तत्काल दिन माग गरे । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गरे ।

सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे ।

सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुमा छाडा गाईगोरुका कारण कृषक मारका परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद सोविता गौतमले सुलभ कर्जा नपाउँदा धेरै मानिसहरुले समस्या परेको हुनाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद हितराज पाण्डेले शान्ति प्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद हेमराज राईले जनताले समृद्धिका मताधिकारअनुसार काम गर्न आग्रह गरे ।

यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिरमा नदी कटानले सङ्कटग्रस्त हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गरे । सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !