१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ


कमलबहादुर शाह

लम्की । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना भएको विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी) बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए । तर ककस्लाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने टुङ्गो लाग्न बाँकी छ ।

मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मैले एक महिनाभित्र विश्वासको मत लिन्छु । यो दल त्यो दलभन्दा पनि हामी सबैलाई मिलाएर अगाडि बढ्छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !