१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई आज विशेष सम्बोधन गर्दै


राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गरेपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ ।

यस्तै आजै साँझ ५ बजे संसदको दोस्रो बैठक बस्ने पनि कार्यसूची रहेको छ । आजको दोस्रो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ आजको संसदको संयुक्त बैठकको दैनिक कार्यसूची

संसदको संयुक्त बैठकको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !