११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र खगराज अधिकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

सत्ता गठबन्धन दलले गण्डकी प्रदेशमा मन्त्रालयको संख्या टुंगो लगाए पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन । आइतबार सत्ता गठबन्धनका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशभा सातवटा मन्त्रालय मात्रै बनाउने टुंगो लगाएका थिए ।

गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ वटामा पुर्याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताएकी छन् ।

विना विभागीयमन्त्री एवं नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले जिम्मेवारी बाँडफाँटमा दलहरुबीच सहमति जुटिनसकेको बताएका छन् । प्रदेशको व्ययभार घट्ने गरी गण्डकी सरकारले लिएको मन्त्रालय कटौतीको निर्णयलाई धेरैले सकारात्मक कदमका रुपमा लिएका छन् ।

मन्त्रालय घटाउने विषयमा छलफल लम्बिँदै जाँदा मन्त्रिपरिषद् विस्तारले पनि समय लिएको जनाइएको छ । प्रदेशले नयाँ मुख्यमन्त्री पाएको १५ दिन बितिसक्दा पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन ।

विना विभागीयमन्त्रीका रुपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरु कामविहीन स्थितिमा छन् । विभागीयमन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित भइरहेका जनाइएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । विना विभागीयमन्त्रीको हैसियतमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । मन्त्रालय घटाउने निर्णयसँगै अब थप तीन मन्त्री मात्र नियुक्त हुनेछन् ।

मन्त्रालयको संख्याको टुंगो लागेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिएर थप मन्त्रीहरुको नाम टुंगो लगाउन शीर्ष नेतृत्वसँग छलफल गर्नका लागि मुख्यमन्त्री अधिकारी हिजो सोमबार साँझ पोखराबाट काठमाडौं आएका हुन् । उनले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

मुख्यमन्त्री अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौं आएका हुन् । उनले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशमा अव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलश्रोत मन्त्रालय बन्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !