२२ भाद्र २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्जले भेट गरेका छन् । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो-नेपाल पोलिसी’को नाम दिएको बताए । प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए ।

भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !