७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले संसदबाट पाए विश्वासको मत


प्रधानमन्त्री प्रचण्ड संसदमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभाको २७५ सदस्यमध्ये आजको बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल २७० सांसद उपस्थित थिए । विश्वासको मत प्रस्तावको पक्षमा २६८ मत परेको छ भने विपक्षका २ जना मात्र सांसदको मात्र मत परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए ।

राष्ट्रपति भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !