काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताएका छन् ।
प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उनले भने, “हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु, म फोटो झुण्ड्याउन र नाम लेखाउन मात्रै तेस्रोपटक प्रधानमन्त्री भएको होइन ।”
उनले हरेक पटक संसदमा आफू उपलब्धिका ‘डाटा र रिपोर्ट कार्डका’ साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “मलाई विश्वासको मत दिएमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु । सबैको साथ र सहयोग लिएर राष्ट्र निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु ।”