६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा पर्ख र हेरको अवस्थामा देउवा


काँग्रेस संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारेमा पर्ख र हेरको अवस्थामा रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पुस २६ नै निर्णय गर्ने भएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आज छलफल भएपनि पुस २६ गते बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने भएको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने समय नजिकिंदै गर्दा देउवाले पार्टीको संसदीय दलमा आज निर्णय नगरेर राजनीतिक कोर्स कता अघि बढ्छ भनेर पर्ख र हेरको अवस्थामा रहेका हुन् ।

सात दलीय सत्ता गठबन्धन फुटाएर प्रचण्ड सरकार ढाल्न कम्मर कसेर लागिपरेका देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेको जस्ता समाचार बाहिर आएका छन् । देउवा भरसर राप्रपालाई सात दलीय सत्ता गठबन्धनबाट बाहिर ल्याएर प्रचण्ड सरकार ढाल्न अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री अफर गरेको जस्ता विश्लेषण भएका छन् ।

सभापति देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्‍यक्ष माधव कुमार नेपालबीच देउवा निवास धुम्बाराहीमा हिजो शुक्रबार साँझ भेटवार्ता भएको थियो । देउवा र नेपालबीच तत्कालीन सत्तारुढ गठबन्धन तोडिनुका कारणको बारेमा पनि छलफल भएको बताइएको छ ।

यसका साथै देउवाले नेकपा (एस) लाई सत्ता गठबन्धनमा जानबाट रोक्ने प्रयत्नमा रहेका छन् । देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवसंग पनि बिहीबार छलफल गरेका थिए । प्रचण्ड सरकार ढाल्नै नसकेपनि राप्रपा र जसपलाई गठबन्धन बाहिर ल्याउने र एकीकृत समाजवादीलाई वर्तमान गठबन्धनमा जान नदिने रंनित्मा देउवा रहेका छन् ।

तत्कालिन सत्ता गठबन्धन छोडेर एमालेको साथ पाएर प्रधानमन्त्री भएका प्रचण्डको सरकार ढालेर शेखी तोड्ने मनसायमा देउवा रहेका छन् । सभापति देउवाले काँग्रेस नेता विमलेन्द्र निधिलाई प्रचण्ड सरकार ढाल्न दिल्ली पठाएको भन्ने जस्ता हल्ला पनि चलेका छन् ।

काँग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सभापति देउवाले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने छन् । त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई जानकारी गराएको हो । सङ्घीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए ।

संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने, “हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ ।” निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारेमा काँग्रेसले पुस २६ नै निर्णय गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !