७ असार २०८१, शुक्रबार

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक जारी रहेको हो ।

यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल भइरहेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवं सङ्घीय संसद्का सांसदहरुको सहभागिता रहेको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु