काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस २४ गते आइतबार काठमाडौं आउने भएका छन् । चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि सोङ आइतबार नेपाल आउन लागेका हुन् ।
सोङ यसअघि पुस ११ गते नेपाल आउने भनिएपनि स्वास्थ्यमा समस्या आएपछि पूर्वनिर्धारित मितिभन्दा लगभग दुई साता ढिला नेपाल आउन लागेका हुन् । परराष्ट्र स्रोतका अनुसार नयाँ चिनियाँ राजदूत पर्सी आइतबार नेपाल आउन लागेको बताएको छ ।
नेपाल आएपछि नयाँ चिनियाँ राजदूत सोङ केही दिन क्वारेन्टीनमा बस्ने भएका छन् । तत्कालिन चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो ।
यसअघि उनी चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । उनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आएका थिए । उनी नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञको रुपमा मानिन्छन् ।