काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा सभापति देउवा र अध्यक्ष नेपालबीच आज शुक्रबार साँझ भेटवार्ता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदबाट विश्वासको मत लिने समय नजिकिंदै गर्दा देउवा र नेपालबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
देउवा र नेपालबीच तत्कालीन सत्तारुढ गठबन्धन तोडिनुका कारणको बारेमा पनि छलफल भएको बताइएको छ । देउवाले आफ्नो पार्टीका महामन्त्री र उपसभापतिहरुसँग भेटवार्ता गरेपछि अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।
सात दलीय सत्ता गठबन्धन फुटाएर प्रचण्ड सरकार ढाल्न कम्मर कसेर लागिपरेका देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेको जस्ता समाचार बाहिर आएका छन् ।