काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा सचिवहरुसँग मन्त्रालयको बारेमा छलफल गरेका छन् । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाएर कामकारबाहीको बारेमा विवरण मागेका हुन् ।
मुख्यसचिव शंकरदास बैरागीका अनुसार प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने क्रममा सचिवहरुले आ-आफ्नो मन्त्रालयको प्रगति विवरण र भोग्नु परेको समस्याबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका हुन् ।
सचिवहरूको ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्दै सचिवहरूलाई विकासका काम कसरी भइरहेका छन् ? भनेर प्रश्न समेत गरेका थिए ।
प्रधानमन्त्रीले विकासको गति कसरी अघि बढेको छ ? जनताले पाउने सेवा सुविधाहरू कसरी पाइरहेका छन् ? भनेर सरकार प्रमुखको हैसियतले ब्रिफिङ लिएका हुन् । छलफल भोलि पनि भएपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी रहेको छ ।
प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीको बारेमा चासो लिएर सचिवहरुसँग छलफल गरेका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता जनाएका छन् ।