काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक भएको छ ।
गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न ७७ वटै जिल्लाका सीडीओहरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।
उनका अनुसार बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिएका छन् । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उहाँले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।
यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन् । आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ ।
यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफुले गृहमन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउने लगायतका विषमया केन्द्रित रहेको जनाइएको छ ।