११ आश्विन २०८१, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्दै


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

कास्की । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे भव्य समारोहका बीच विमानस्थल उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा आज नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । पुस १७ गते अर्थात् जनवरी १ तारिख अंग्रेजी नयाँवर्षको पहिलो दिनदेखि यो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो ।

शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुने बताइएको छ । आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

आज बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताए ।

महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले हिजो एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !