१७ असार २०८१, सोमबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले दियो पहिलो बधाई


प्रचण्ड र विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएकोमा चीनले पहिलो बधाई दिएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई उत्तरको छिमेकी मित्रराष्ट्र चीनले पहिलो बधाई दिएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्री भएकोमा बधाई दिएको हो । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले सामाजिक संजाल ट्वीटरमार्फत नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।

यसअघि गठबन्धनमा प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राख्दै आएका थिए । चीनले नेपालमा एमाले र माओवादी केन्द्रलाई मिलाएर कम्युनिष्ट सरकार बनाउन सफल भएको छ । केही समयअघि मात्र चिनियाँहरुको एउटा टोली काठमाडौंमा आएर कम्युनिष्ट नेताहरुसँग राजनीतिक भेटवार्ता गरेर कम्युनिष्ट सरकार बनाउन दवाव दिएको थियो ।

आज साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले १६९ जना सांसदहरुको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको भोलि अपराह्न ४ बजे सपथ ग्रहण हुने भएको छ ।

चिनियाँ दूतावासका प्रवक्ताले ट्वीटरमा लेखेका छन्, ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !