२ जेष्ठ २०८१, बुधबार

शेखर-गगन समूहको बैठक आज पुनः बस्दै, संसदीय दलमा सहमति खोज्ने


शेखर-गगन समूह

काठमाडौँ । नेपाली कांग्रसको संस्थापनइतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको संसदीय दलमा सहमति खोजेर साझा उम्मेदवार छान्न आज पुन: बैठक बस्ने भएको छ ।

हिजो दिनभर बैठक बस्दा पनि सहमति जुट्न नसकेपछि आज बिहान ८ बजे पुनः बैठक बस्ने भएको हो । राजधानीको लाजिम्पाटस्थित होटल एम्बासडरमा संसदीय दलमा सहमति जुटाउन हिजो बसेको शेखर-गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

शेखर-गगन समूहमा हिजो बिहानदेखि नेता कोइराला र महामन्त्री थापामध्ये एक जना उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो । सो समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्काले दावी नछाडेपछि हिजोको बैठकमा सहमति हुन सकेको थिएन ।

नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहमा संसदीय दलको नेतामा को उठ्ने भन्ने विवाद सिर्जना भएको हो । संस्थापन समूहबाट पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने संस्थापनइतर समूहमा कोइराला र थापा दुवैले दाबी गर्दै आएका छन् ।

थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू संसदीय दलको नेता बन्न गृहकार्य थालेका थिए भने चुनावको अन्तिम समयमा आएर कोइरालाले समेत दल नेतामा लड्ने चाहना देखाएपछि दुई नेताहरु बीचमा टक्करको स्थिति सिर्जना भएको हो । काँग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !