१० असार २०८१, सोमबार

देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने, आजै काठमाडौँ फर्कने


शेरबहादुर देउवा डडेल्धुरामा फाइल फोटो

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् भने उनी आजै काठमाडौँ फर्किने पनि जनाइएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार डडेल्धुरा आइपुगेका देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

हिजो शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए । देउवा आज काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम रहेको छ ।

देउवाले २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !