४ बैशाख २०८१, मंगलबार

डा. तोसिमा र नो नट अगेनसम्बन्धी रिट न्यायाधीश चुडालको इजलासमा


सर्वोच्च अदालत र डा. कुमार चुडाल

काठमाडौँ । डा. तोसिमा कार्की र नो नट अगेन अभियानले निर्वाचन आयोगविरुद्ध दायर गरेका दुवै रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुवै रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा हिजो रिट दायर गरेकी थिइन् ।ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

आयोगले कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी थिइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको थियो ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने आयोगको निर्देशनविरूद्ध सर्वोच्चमा हिजो रिट दायर भएको थियो।
अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ अभियानमाथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा हिजो रिट दर्ता गरेका थिए ।

अधिवक्ता आचार्यले सोमबार सर्वोच्चमा रिट दर्ता गर्दै आयोगको निर्णय खारेजीको माग गरेका छन् । आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !