१३ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीले आज घोषणापत्र सार्वजनिक गर्दै


एकीकृत समाजवादी

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ । एकीकृत समाजवादीले आज दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरेर घोषणापत्र सार्वजनिक गरिने सो पार्टीका महासचिवडा. वेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादीले उपमहासचिवहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक-सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।

जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ ।

खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ । राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !