७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा थापाथलीस्थित बाग्मती किनारमा छठ पूजा


प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गरेका छन् ।

प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।

छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले बर्तालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने जानकारी दिए । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्नसमेत टेवा पुग्ने उनको भनाइ छ ।

राजधानीको गुहेश्वरी, कमलपोखरी, थापाथली लगायत नदी किनार र तलाउमा बर्तालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एकवर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !