१२ असार २०८१, बुधबार

एमसीसी असफल बनाउने शर्तमा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको थियो : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको आज खुलासा गरेका छन् ।

आज बुधबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई असफल बनाउन एमाले अध्यक्ष ओलीलाई पुन: प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको खुलासा गरेका हुन् ।

उनले ओलीलाई फेरि प्रधानमन्त्री बनाउने प्रचण्डले प्रस्ताव गरेपनि त्यसलाई ओलीले अस्वीकार गरेको बताए । उनले एमसीसी पारित हुनुअघि एमालेला अध्यक्ष ओलीसहितको टोलीसँग वार्ता गर्न माओवादी टोली जाँदा एमसीसी असफल गर्न साथ दिन ओलीलाई प्रस्ताव राखेको बताए ।

उनले हिजो ओलीले एमसीसी पारित गर्नुपर्छ भनेपनि राष्ट्रियताको मुद्दामा एमाले फेरि मिलन आग्रह गर्दै एमसीसी असफल भएपछि गठबन्धन टुट्ने भएपछि ओली नै फेरि प्रधानमन्त्री हुने वातावरण बन्ने भएकोले अघि बढ्न भनेको बताए ।

उनले वाम तालमेल गरेर निर्वाचनमा जान ओलीलाई आग्रह गरिएको भएपनि ओली एमसीसी असफल बनाउन तयार नभएको बताए । उनले आगामी मंसिर ४ गते हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेपनि एमाले अध्यक्ष ओलीका कारण असफल भएको पनि खुलासा गरे ।

श्रेष्ठले विगतमा एमसीसी पारित नगर्न सघाउने सर्तमा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको दाबी समेत गरे । उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको प्रस्तावसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भए पनि ओलीले सो प्रस्ताव अस्वीकार गरेको उनले बताए ।

उनले दलीय गठबन्धन भएपनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ दलको गठबन्धनजस्तो भएको टिप्पणी गरे । उनले कांग्रेसभित्र शेरबहादुर देउवा बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले गठबन्धनको सीमा र जटिलता रहेको भन्दै गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्वीकार गरे । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाइ रहेको छ ।

उनले गठबन्धनका दलभित्र चुनावी तालमेल आफूहरुको चाहना नभएर बाध्यात्मक परिस्थितिको उपज भएको स्वीकार गरेका हुन् । उनले ओलीले दुई पटक गरेको प्रतिनिधिसभा विघटनमा आफूले गल्ती भएको स्वीकार गरेर ओली आउँदा एमालेसँग सहकार्य गर्ने पक्षमा माओवादी रहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !