६ जेष्ठ २०८१, आइतबार

देउवा भन्छन्- राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो

सत्ता गठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाद्वारा आह्वान


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका छन् ।

ललितपुर जिल्लास्तरीय वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गर्दै जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले दुईपटक संसद भङ्ग गरेको प्रसङ्ग उल्लेख गर्दै उनले जनताले चुनेको संसद मन लाग्यो भन्दैमा लहडमा भङ्ग गर्न नपाईने बताए । यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उनले जानकारी गराए ।

देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह समेत गरेका छन् । गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् ।

आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे । गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, “संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।”

लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे । “हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको हो”, उनले भने ।

मुलुकमा एकातिर कोभिड–१९ महामारीको असर र डेङ्गु रोगको सङ्क्रमण तथा अर्काेतिर आर्थिक अवस्थामा देखिएको समस्याका बाबजुद सबैको सहयोगले समाधान उन्मुख भएको उल्लेख गर्दै उनले सबै मन्त्रीले राम्रो काम गरेको बताए । त्यसैले नेपाल असफल राज्य हुन बाट बचेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले नेपालको अपार संभावना भएको जलस्रोतको दिगो उपयोग गरेर निर्यात गर्न सकिने उल्लेख गरे । उनले उत्पादित विजुली भारतले किन्ने सहमति भएकाले बजारको समस्या नरहेको र यसैबाट मुलुकले समृद्धि हासिल गर्ने अपेक्षा गरे ।

उनले नेपालको संविधान अनुपम रहेको उल्लेख गर्दै सबै मिलेर देश बनाउनुपर्ने आवश्यकता औल्याए । “अहिले मुलुकको आर्थिक अवस्थामा सुधार आएको छ । कोभिड–१९ पनि नियन्त्रण भएको छ । स्थायी शान्तिमा मुलुक गएको छ । जीवन्त प्रजातन्त्र स्थापना भएको छ । कांग्रेसले खोजेकैै यही प्रजातन्त्र हो”, प्रधानमन्त्री देउवाले भने ।

उनले सबै वर्ग, क्षेत्र र समुदायको देश भएकाले नै त्यसका लागि समावेशी लोकतन्त्र अपनाएको बताउदै सो कुरा संविधानले व्यवस्था गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “यो प्रजातन्त्रको सुन्दर पक्ष हो । विश्वमा यस्तो विरलै हुन्छ । यो ठूलो उपलब्धि हो र यसको रक्षा गर्नु सबैको दायित्व हो । हरेकलाई आरक्षण दिइएको छ । सुन्दर देशसँगै सुन्दर पजातन्त्र स्थापना गरेका छौ, सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु