काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाएका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले आज बेलुकी एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम प्रधानमन्त्री देउवाले जसपाका चार जना मन्त्रीहरुलाई पदमुक्त गरी प्रधानमन्त्रीको सिफारिसमा निजहरूले सम्हाली आएको उल्लिखित मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको जानकारी दिएका छन् ।
यसअघि असोज २५ गते मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा गठबन्धनका नेताहरुले जसपाका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति गरिसकेका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि जसपासँग रुष्ट बनेका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरूलाई हटाएका हुन् ।
सरकार पनि बस्ने अनि प्रमुख प्रतिपक्षीसँग चुनावी तालमेल गरेको भन्दै गठबन्धन दलका नेताहरुले जसपाका मन्त्री हटाउन प्रधानमन्त्री शेर देउवालाई दबाब दिएका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले जसपाको मन्त्री हटाउने सम्वन्धमा कानून व्यवसायीसँग समेत परामर्श गरेका थिए ।