२२ भाद्र २०८१, शनिबार

आयोगको निर्देशन : आचारसंहिताविपरीत मत सर्वेक्षण नगर्नु, गरे कारबाही हुन्छ


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । आयोगले उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोकोे नतिजा सार्वजनिक गरेको पाइएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उपरोक्त व्यवस्था विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेका छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !