६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने, कायमै रहने


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेज नहुने आयोगको निर्णय गरेको छ ।

आयोगले प्रधानमन्त्री देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको उमेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक-फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी उनले बताए ।

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले हिजो सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् । नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।

सो उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरेको थियो । देउवाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान साढे ११ बजे पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु