१२ असार २०८१, बुधबार

चुनावी तालमेलबारे ओलीसँग छलफल गर्न राप्रपा नेताहरु बालकोटमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका छन् ।

आसन्न निर्वाचनमा सिट बाँडफाटबारे छलफल गर्न राप्रपा नेताहरुलाई लिएर अध्यक्ष लिङ्देन एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा पुगेका हुन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आगामी चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल जारी रहेको छ ।

एमालेसँग चुनावी तालमेलको सहमति टुंग्याउन राप्रपाका शीर्ष नेताहरु लिङ्देनसहित डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ एमालेका अध्यक्ष ओलीको निवास बालकोट पुगेका हुन् । पार्टीका अर्का नेता रवीन्द्र मिश्र भने ओलीसँगको आजको बैठकमा सहभागी भएका छैनन् ।

राप्रपासँग अध्यक्ष ओलीकै तहबाट धेरै विषय टुंगिसकेकाले अब कुन-कुन क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने भन्ने मात्र बाँकी रहेको छ । राप्रपासँग एमालेको देशव्यापी तालमेल नहुने र केही क्षेत्रमा एमालेको सहयोगले राप्रपा जित्ने तथा राप्रपाको सहयोगले एमाले जित्ने गरी मात्र आंशिक तालमेल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !