२१ कार्तिक २०८१, बुधबार

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ, गर्नुहुनेछ : सञ्चारमन्त्री कार्की


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएकोले गर्नेमा दृढता व्यक्त गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् ।

आज मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको सिट बाँडफाँटबारेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, “संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ । संविधात: राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको आज १५ दिन पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले आज राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ ।

यद्यपि राष्ट्रपतिको कार्यालयबाट अहिलेसम्म यसबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !