काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: भोलि बिहान ८ बजे बस्ने गरी सकिएको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । आज मंगलबार बिहान र बेलुका छलफल गरेका गठबन्धनका दलहरूले प्रतिनिधिसभाको १६५ मध्ये १०० भन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरिएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।
आज बिहान बसेको बैठकमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि साँझ बैठक फेरि बसेको थियो । सिट बाँडफाँटमा गठबन्धन दलहरु सहमति नजिक पुगेकोले अब छिट्टै टुंगो लाग्ने बताइएको छ ।
हिजो सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबण्डा टुंगो लगाउन छलफललाई तीव्र दिएका हुन् । गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।