१४ आश्विन २०८१, सोमबार

ओलीप्रति देउवाको कटाक्ष : परमादेशकै कारण सँगै काम गर्न पायौं


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको भनेर व्यंग गरेका छन् ।

आज शनिबार हालको प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष ओलीले परमादेशको सरकार भनेर आरोप लगाउने गरेको भन्दै परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपनि हालको देउवा नेतृत्वको गठबन्धन सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरेका छन् ।

देउवाले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महशुस गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताए ।

वर्तमान सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दै उनले सरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !