१४ आश्विन २०८१, सोमबार

गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी, सिट बाँडफाँट टुंगो लाग्ला ?


सत्ता गठबन्धनको बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको हो ।

गठबन्धनका शीर्ष नेताहरूको हिजो बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुन: बैठक बसेको हो । यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको दावी गरेका थिए ।

बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास जारी रहेको छ । कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको छ । खनालले आज बैठक बसेर अधिकांश विषय टुङ्गो लगााउने दावी गरेपनि सहमति जुट्ने सम्भावना न्यून रहेको बुझिएको छ ।

आसन्न निर्वाचनमा गठबन्धनले तालमेल गरेर जाने निर्णय गरिसकेपनि सिट बाँडफाँटको भने अझसम्म टुंगो लाग्न सकेको छैन । गठबन्धनमा आगामी निर्वाचनमा कुन दलले कति सिट पाउने भन्ने विषयमा अझै पनि सकस देखिएको हो ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि नेताहरुले गठबन्धन नटुट्ने जिकिर गर्दै आएका छन् ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सिट संख्या टुंगो नलागेकोले शीर्ष नेताहरूको आज जारी बैठकले सिट संख्या टुंगो लगाउन नेताहरु छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !