७ असार २०८१, शुक्रबार

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको आज बस्दै छ । हिजो शुक्रबारका लागि तय गरिएको गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न नसकी आज शनिबार ४ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो ।

सिट बाँडफाँट टुंगो लगाउन हिजो शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरु र कार्यदल सदस्यहरुसहितको बैठक बोलाइएको थियो । गठबन्धनका शीर्ष नेताहरूको कार्यव्यस्तता भएकोले हिजोको बैठक स्थगित गरिएको थियो ।

आसन्न निर्वाचनमा गठबन्धनले तालमेल गरेर जाने निर्णय गरिसकेपनि सिट बाँडफाँटको भने अझसम्म टुंगो लाग्न सकेको छैन । गठबन्धनमा आगामी निर्वाचनमा कुन दलले कति सिट पाउने भन्ने विषयमा अझै पनि सकस देखिएको छ ।

गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएपछि सिट बाँडफाँटको संख्या पेचिलो बन्दै गएको हो । उनले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने घुर्की लगाएका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । कांग्रेस चितवनद्वारा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन कुनै हालतमा नटुट्ने र नतोडिने भन्दै गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुङ्गो नलागेको बताएका छन् । भक्तपुरका कांग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले हिजो आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मङ्सिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँटको टुङ्गो भने अझै नलागेको बताएका थिए ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको थियो । यद्यपि उक्त प्रतिवेदनमा सिट संख्या टुंगो नलागेकोले शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !