१८ असार २०८१, मंगलबार

बयान दिन महाअभियोग सिफारिस समितिमा पुगे चोलेन्द्र


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिन पुगेका छन् । उनी बयान दिन बुधबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पुगेका हुन् ।

अहिले उनीसंग प्रश्नोत्तर जारी रहेको छ । समितिले उनीमाथि लागेको आरोपका बारेमा छलफलका लागि बोलाएको हो । संघीय संसद् सचिवालयमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

उक्त समितिले भदौ १० गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र समितिमा आइपुग्ने गरी जबराविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेकोले नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !