१२ श्रावण २०८१, शनिबार

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै


कार्यदलको बैठक

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन कार्यदलको बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो ।

आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले अझसम्म सिट बाँडफाँटको टुंगो लगाउन सकेको थिएन् । साउनको तेस्रो सातादेखि कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ ।

आसन्न निर्वाचनका लागि सिट बाडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !