१२ श्रावण २०८१, शनिबार

कर्णाली प्रदेशमा माओवादीबाट अर्थमन्त्री र ऊर्जामन्त्री नियुक्त


कृष्णा शाह र रातो कामी

काठमाडौँ । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार आज सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको छ ।

अर्थमन्त्रीमा नियुक्त भएकी शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने उर्जा विकास मन्त्रीमा नियुक्त भएका कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !