७ मंसिर २०८१, शुक्रबार

सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै


कार्यदलको बैठक

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बस्दैछ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको तेस्रो बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो । गत बिहीबार पनि बसेको गठबन्धन कार्यदलको बैठकले केही मापदण्ड अपनाएर गठबन्धनमा सिट बाँडफाँडको आधार तय गरी आज पुन: बैठक बस्ने गरी टुंगिएको थियो ।

बिहीबारको बैठकमा सिट बाँडफाँड गर्दा २०७४ सालको निर्वाचनको परिणाम, हालै २०७९ वैशाख महिनामा सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम र संसदमा रहेका सदस्यहरुको उपस्थितिलाई मुख्य आधार बनाइने भएको थियो । यस्तै दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने सैद्धान्तिक समझदारी पनि भएको थियो ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलहरुबीच तालमेल गर्ने सहमति भइसकेको छ । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ ।

गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेताहरू वर्षमान पुन र देव गुरुङ सदस्य रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् ।

साथै जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य रहेका छन् भने राष्ट्रिय जनमोर्चाको तर्फबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

यसैबीच सत्ता गठबन्धनका शीर्ष नेताहरुको हिजो आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको कार्यदल सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !